गान्तोक, 11 जुलाई । सिक्किम सरकारको वित्त विभागले सामाजिक सञ्जालमा प्रसारित भइरहेका कतिपय आरोपहरूबारे आफ्नो स्पष्टीकरण दिॅंदै आरोपहरू पूर्ण रूपमा झुटा, भ्रामक र तथ्यगत रूपमा गलत रहेको बताएको छ।
विभागले आज जारी गरेको स्पष्टीकरणमा भनेको छ, मेडिकल रीइम्बर्समेन्ट केवल क्यान्सर र डायलाइसिस बिरामीहरूमा मात्र सीमित गरिएको छ, लीभ इनक्याशमेन्ट रोकिएको छ र कुनै पनि हेडमा बजेटको कुनै प्रावधान छैन भन्ने आरोपहरू सामाजिक सञ्जालमा प्रसारित भइरहेका छन्, जुन पूर्ण रूपमा झुटा, भ्रामक र तथ्यगत रूपमा गलत हो।
वित्त विभागले प्रतिबन्ध लगाउने त्यस्तो कुनै पनि आदेश वा निर्देशन जारी गरेको छैन भनी स्पष्ट गरेको छ। यसैगरी, वित्त विभागले तलब, ज्याला तथा पेन्सन नियमित र समयमै जारी र वितरण भइरहेको बताएको छ। वित्त विभागलाई कुनै पनि विभागको वेतन बिल लम्बित रहेको सूचना प्राप्त नभएको उल्लेख छ। विभागले मानिसहरूलाई अप्रमाणित जानकारीमा भर नपर्न र प्रसारित नगर्न सल्लाह दिएको छ।
Leave a comment


