गान्तोक, 03 सेप्टेम्बर। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमको रानीपुलस्थित केन्द्रिय पार्टी मुख्यालयमा आज आयोजित कार्यक्रममा ७० भन्दा बढी परिवार औपचारिक रूपमा पार्टीमा प्रवेश गरेको दाबी गरिएको छ। पार्टी अध्यक्ष गणेश कुमार राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टीका वरिष्ठ पदाधिकारी, केन्द्रिय कार्यसमिति सदस्य, युवा नेताहरू तथा पार्टी कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।
पार्टीमा प्रवेश गर्ने नयाँ सदस्यहरूमा सिक्किमेली समाजका विभिन्न क्षेत्रका पेशाकर्मी, उद्यमी, समाजसेवी, महिला नेतृत्व, युवा तथा तल्लो तहका प्रतिनिधिहरू रहेको पार्टी प्रवक्ता इडु छिरिङ भोटियाले प्रेस विज्ञप्तिमा दिएकी छन्। पार्टीमा प्रवेश गर्ने प्रमुख व्यक्तित्वहरूमा अप्पर बुर्तुककी डा. मामित्रा थापा, सिक्किम डेमोक्रेटिक फ्रन्टका पूर्व राज्यस्तरीय युवा संयोजक डीके राई तथा समाजसेवी बीके पोखरेल सामेल रहेका छन्।
नयाँ सदस्यहरूलाई स्वागत गर्दै पार्टी अध्यक्ष राईले पार्टीको झण्डा प्रदान गरे। उनले नयाँ सदस्यहरूको योगदानले अझ समावेशी, जवाफदेही र प्रगतिशील सिक्किम निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै राईले पेशाकर्मी, युवा, समाजसेवी तथा तल्लो तहका नागरिकहरूको बढ्दो सहभागिताले राज्यमा अर्थपूर्ण राजनीतिक तथा शासन सुधारको व्यापक जनचाहना प्रतिबिम्बित गरेको बताए। उनले नागरिकको हितलाई केन्द्रमा राख्ने राजनीतिक मञ्चका रूपमा सीएपी प्रतिबद्ध रहेको उल्लेख गर्दै शासन सञ्चालनमा निहित स्वार्थभन्दा नागरिकलाई प्राथमिकता दिइने बताए। पारदर्शिता, जवाफदेहिता तथा जनकल्याणलाई राजनीतिक निर्णयको आधार बनाउने पार्टीको प्रतिबद्धता रहेको उनले बताए।
Leave a comment


