
गान्तोक,11 सेप्टेम्बर। सिक्किम सहकारी दूध उत्पादक संघ लिमिटेड (सिक्किम मिल्क युनियन) को ३१औँ वार्षिक आमसभा बिहीबार दक्षिण सिक्किमको जोरथाङ-कार्फेक्टारमा सम्पन्न भएको छ। आमसभामा राज्यभरिका दूध उत्पादक सहकारी संघका प्रतिनिधि, सहकारी तथा पशुपालन विभागका अधिकारी र युनियनका पदाधिकारीको सहभागिता रहेको थियो।
मुख्य अतिथिका रूपमा उपस्थित युनियनका अध्यक्ष यमकुमार शर्माले राज्यका दूध उत्पादक किसानले आगामी दशैँअघि नै राज्य सरकारबाट प्रदान गरिने प्रतिलिटर ८ रुपियाँ प्रोत्साहन राशि प्राप्त गर्ने जानकारी दिए। उनले दुग्ध क्षेत्रप्रति राज्य सरकारको समर्थनका लागि मुख्यमन्त्री प्रेमसिंह तामाङप्रति आभार व्यक्त गर्दै ८ रुपियाँ प्रोत्साहन राशि तथा ‘ग्वाला रत्न पुरस्कार’ जस्ता पहलले दूध उत्पादकलाई प्रोत्साहन र सम्मान प्रदान गरेको बताए। ‘सुनौलो, समृद्ध र समर्थ सिक्किम’ निर्माणका लागि बलियो तथा आत्मनिर्भर सहकारी क्षेत्र आवश्यक रहेकोमा उनले जोड दिए।

युनियनका प्रबन्ध निर्देशक डा. तिलक घतानीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष २०२५-२६ मा १६१.२२ करोड रुपियाँको लक्ष्यविरुद्ध १५७.९५ करोड रुपियाँ, अर्थात् ९७.८१ प्रतिशत कारोबार हासिल भएको जानकारी दिए। उनले आर्थिक वर्ष २०२६-२७ का लागि १६५.८५ करोड रुपियाँ कारोबारको लक्ष्य राखिएको जानकारी गराए। राज्य सरकारको मार्गदर्शनमा युनियनले मही, आइसक्रिम र मिठाईलगायत १६ नयाँ उत्पादन बजारमा ल्याएको पनि उनले बताए।
आमसभामा दुग्ध उत्पादकको हित तथा दुग्ध व्यवसायको विकासमा योगदान पुर्याउने गेजिङका अतिरिक्त जिल्लापाल (विकास) सूरज गुरुङ, एग्रो बायोटेक्नोलोजी सेन्टर, योक्समका प्रबन्ध निर्देशक राजीव कुमार तथा राष्ट्रिय योग्यता परीक्षा २०२६ मा राज्यस्तरमा तेस्रो स्थान हासिल गर्ने आदित्य छेत्रीलाई सम्मान गरिएको थियो। आदित्य डा. हेलेन लेप्चा मेडिकल कलेजमा सर्वोच्च अंकसहित भर्ना हुने पहिलो विद्यार्थी रहेको जनाइएको छ।
आमसभाको अन्तरक्रियात्मक सत्रमा विभिन्न दूध उत्पादक सहकारी संघका प्रतिनिधिहरूले किसानका समस्या, गुनासा तथा मागहरू प्रस्तुत गरे। युनियन, सहकारी विभाग तथा पशुपालन एवं पशु चिकित्सा सेवा विभागका अधिकारीहरूले राज्य सरकारका विभिन्न योजना तथा कल्याणकारी कार्यक्रमबारे जानकारी दिँदै समस्या समाधानका लागि सकारात्मक पहल गर्ने प्रेस विज्ञप्तिमा जनाएका छन्।



