गान्तोक, १२ सेप्टेम्बर। सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले आज हिमनदीजन्य जोखिमसम्बन्धी आयोगका अध्यक्ष डा. अखिलेश गुप्ताको नेतृत्वमा रहेको आयोगका सदस्यहरूसँग भेट गरेका छन्। भेटका क्रममा आयोगले आफ्नो प्रतिवेदन मुख्यमन्त्रीलाई बुझाएको छ। यस अवसरमा राज्य विज्ञान एवं प्रविधि विभाग मन्त्री पिन्चो नामग्याल लेप्चाको पनि उपस्थिति रहेको थियो।
मुख्यमन्त्री तामाङले सामाजिक सञ्जालमार्फत आयोगका अध्यक्ष डा. अखिलेश गुप्ता तथा सदस्यहरूसँग भेट गर्न पाउनु आफ्ना लागि खुशी र सम्मानको विषय भएको बताएका छन्।
मुख्यमन्त्रीले जानकारी गराउॅंदै भने, ११ सेप्टेम्बर, २०२४ मा सिक्किम सरकारले २०२३ मा दक्षिण ल्होनाक हिमताल फुटेर आएको विनाशकारी बाढीपछि हिमनदीजन्य जोखिम न्यूनीकरणका लागि समग्र रणनीति तथा कार्ययोजना तयार गर्ने उद्देश्यले आयोग गठन गरेको थियो।
आयोगले सिक्किममा हिमनदीजन्य जोखिमबाट उत्पन्न हुन सक्ने चुनौती सामना गर्न तयारी, लचिलोपन तथा प्रतिकार्य संयन्त्रलाई सुदृढ बनाउने उद्देश्यले आठवटा प्रमुख सिफारिस प्रस्तुत गरेको छ। यी सिफारिस कार्यान्वयनमार्फत सिक्किमलाई हिमाली राज्यका रूपमा नमुना बनाउनुका साथै देशमै हिमनदीजन्य जोखिम न्यूनीकरणको उदाहरणीय राज्यका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।
मुख्यमन्त्री तामाङले सिक्किमका जनताको सुरक्षा र संरक्षणप्रति समर्पित भएर महत्वपूर्ण विशेषज्ञता र योगदान पुर्याएकोमा डा. अखिलेश गुप्ता तथा आयोगका सबै सदस्यलाई बधाई दिएका छन्।
सिक्किम सरकारले आयोगका सिफारिसलाई दृढताका साथ अघि बढाउँदै सामूहिक जिम्मेवारीको भावनासहित कार्यान्वयन गर्ने मुख्यमन्त्रीले बताएका छन्। सुरक्षित, थप लचिलो तथा जलवायु परिवर्तनप्रति सचेत सिक्किम निर्माण गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले हिमाली क्षेत्रमा हिमनदीजन्य जोखिम न्यूनीकरणका लागि सिक्किमलाई उदाहरणका रूपमा स्थापित गर्ने लक्ष्य रहेको बताएका छन्।
मुख्यमन्त्री तामाङले आयोगको महत्वपूर्ण योगदानप्रति आभार व्यक्त गर्दै सदस्यहरूको आगामी कार्यका लागि निरन्तर सफलताको शुभकामना पनि दिएका छन्।
Leave a comment


