गान्तोक, 22 सेप्टेम्बर। सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) ले पार्टीका नेता अरुण लिम्बूको पक्राउ विरुद्ध मैनबत्ती बालेर प्रतिवाद जनाएको छ। एसडीएफ पार्टीका कार्यकर्ताहरूले आज इन्दिरा बाइपासस्थित एसडीएफ भवनमा लिम्बूको पक्राउलाई अन्याय र अलोकतान्त्रिक ठहर गर्दै मैनबत्ती बालेर प्रतिवाद जनाएका हुन्।
यो प्रतिवाद सत्तारुढ पार्टीले असहमतिलाई दबाउन सरकारलाई हतियार बनाएकोमा प्रतिरोधको सन्देश रहेको एसडीएफले आज जारी प्रेस विज्ञप्तिमा बताएको छ। एसडीएफ पार्टीको मजदूर मोर्चा उपाध्यक्ष अरुण लिम्बूलाई 15 सेप्टेम्बर, 2025 का दिन तिमी पुलिस थानामा मुख्यमन्त्री र उनकी धर्मपत्नी विरुद्ध भिडियो प्रसारण गरेको आरोपमा पक्राउ गरिएको कुरा विज्ञप्तिमा उल्लेख छ।
एसडीएफ पार्टीले लिम्बूको पक्राउलाई राजनीति प्रेरित बताउॅंदै कडा निन्दा गरेको छ। एसडीएफले सरकारको व्यापक भ्रष्टाचार र शासन असफलताको आलोचनालाई दबाउन शक्तिको स्पष्ट दुरुपयोग गरेको आरोप लगाएको छ।

Leave a comment