गान्तोक, 01 मार्च। केन्द्रिय नागरिक उड्डयन तथा सहकारिता राज्यमन्त्री मुर्लीधर मोहोलले केन्द्रिय बजेट 2025-26 मा समाजका हरेक वर्गलाई समेटिएको र यसले समावेशी विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन्। केन्द्रिय राज्यमन्त्री मोहोल आज राजधानी गान्तोकमा भाजपा सिक्किमको आर्थिक प्रकोष्ठद्वारा केन्द्रिय बजेट 2025-26 माथि आयोजित एक अन्तरक्रिया सत्रमा बोल्दै उक्त कुरा भनेका हुन्।
यस अन्तरक्रिया सत्रमा विभिन्न राजनीतिक दल, विभिन्न सङ्घ-संस्था र नागरिक समाजका प्रतिनिधिहरू सहभागी थिए। उनले 2047 सम्म विकसित भारतको संकल्पलाई पूरा गर्ने लक्ष्य लिएर केन्द्रिय बजेट 2025-26 पेश गरिएको जानकारी गराए। केन्द्रिय वित्त मन्त्री निर्मला सीतारमणले समाजको अन्तिम व्यक्तिलाई समेत विचार गरेर बजेट तयार गरेको उनले अवगत गराए।
केन्द्रिय राज्यमन्त्री मोहोलले विगत 10 वर्षको देशका 25 करोड़ जनसंख्या गरीबी रेखाभन्दा माथि आएको, भारत वैश्विक महाशक्ति बनेको र विश्वको पॉंचौं ठूलो अर्थतन्त्र बनेको जानकारी गराए। उनले देशका 50 करोड़ जनता आज मोदी सरकारको कुनै न कुनै योजनाको लाभार्थी रहेको दाबी गरे। उनले मेडिकल कलेज, एमबीबीएस सीट, सड़क निर्माण, रेलवे, हवाई अड्डा लगायत अन्य क्षेत्रहरूमा पनि 2014 भन्दाअघिको तुलनामा आज उल्लेखनीय काम भएको छ भने।
उनले पूर्वको सरकारले पूर्वोत्तर राज्यहरूलाई उपेक्षा गरेको थियो भन्दै 2014 पछि सिक्किम लगायत पूर्वोत्तर राज्यहरूमा विकास सुनिश्चित गर्ने कार्य गरिएको बताए। उनले मोदी सरकारमा नै सिक्किमलाई जैविक राज्यको मान्यता प्राप्त भएको र राज्यलाई हवाई मार्गसॅंग जोड्ने काम भएको बताए। अब सिक्किममा रेल सेवा पनि शुरू हुन लागिरहेको उनले बताए।
उनले पाकिम हवाई अड्डाको बारेमा बोल्दै यहॉंबाट देशका अन्य राज्यहरूमा निर्बाध हवाई सेवा सञ्चालन गर्न पहल गरिने आश्वासन दिए। उनले पूर्वोत्तर राज्यहरूलाई देशको विकास इन्जिन बनाउन मोदी सरकार प्रतिबद्ध रहेको बताएका छन्।

Leave a comment