गान्तोक, 11 अगस्त। सिक्किम सतर्कता पुलिसले भ्रष्टाचार तथा आर्थिक अनियमितताको आरोपमा पर्यटन विभागकी एक हेड असिस्टेन्टलाई मंगलबार पक्राउ गरेको छ।सतर्कता विभागका अनुसार, आरोपीले गान्तोक जिल्लाको जिल्ला पञ्चायत तथा जल जीवन मिशनको सुरक्षा धरौटी खाताबाट जालसाजी र बेइमानीपूर्वक निकासा गरिएको रकममध्ये केही रकम आफ्नो ब्याङ्क खातामा प्राप्त गरेको आरोप छ। आरोपीको निवासमा खानतलासी गर्दा जाँचसँग सम्बन्धित महत्वपूर्ण सामग्रीसमेत बरामद गरिएको प्रेस विज्ञप्तिमा जनाइएको छ।जिल्ला पञ्चायतका सचिवको लिखित उजुरीका आधारमा सिक्किम सतर्कता पुलिस थानामा षड्यन्त्र र ठगीसम्बन्धी मुद्दा दर्ता गरिएको थियो। जानकारी अनुसार, सन् २०१८ देखि २०२५ सम्म जिल्ला पञ्चायतका कर्मचारीहरूको तलब बिल तयार गर्ने क्रममा आरोपीहरूले कथित रूपमा आफ्नै तलब रकम बढाएर ब्याङ्कमा नक्कली भुक्तानीग्राहीको विवरण पठाउने गरेका थिए।यसरी बढाइएको रकम तीन जना आरोपी कर्मचारीको ब्याङ्क खातामा जम्मा गरिएको आरोप छ। यसै प्रकरणमा यसअघि जिल्ला पञ्चायतका दुई लेखापाल र एक वरिष्ठ लेखापाल अगावै पक्रा परिसकेका छन्।सतर्कता विभागका अनुसार, उक्त अनियमितताका कारण सरकारी कोषमा करोडौँ रुपियाँ बराबरको आर्थिक क्षति पुगेको छ। जिल्ला पञ्चायतका अन्य आधिकारिक खाताबाट समेत ठूलो रकम हिनामिना गरी अन्यत्र स्थानान्तरण गरेको आरोपमा पनि जाँच जारी रहेको बताइएको छ।पक्राउ परेकी हेड असिस्टेन्टलाई थप केरकारका लागि हिरासतमा राखिएको छ। सतर्कता विभागले सरकारी कार्यालयमा हुने भ्रष्टाचार, अनियमितता तथा गैरकानुनी गतिविधिबारे सूचना तथा उजुरी उपलब्ध गराउन नागरिकहरूलाई आग्रह गरेको छ।


