
गेजिङ, १४ सेप्टेम्बर । मुख्यमन्त्री प्रेमसिंह तामाङले आज सम्मान भवनमा सिक्किमका नीट परीक्षा उत्तीर्ण गरी २०२६ को एमबीबीएस समूहमा सीआरएच मणिपाल तादोङ, हेलेन लेप्चा मेडिकल कलेज तथा देशका अन्य प्रतिष्ठित शिक्षण संस्थानमा भर्ना पाएका विद्यार्थी र उनीहरूका अभिभावकसँग भेट गरेका छन्।
मुख्यमन्त्री तामाङले सबै विद्यार्थीलाई हार्दिक बधाई तथा शुभकामना दिएको आज सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन्। उनले देशकै प्रतिस्पर्धात्मक परीक्षामध्ये एक नीट उत्तीर्ण गरी एमबीबीएसमा भर्ना हुनु मेहनत, समर्पण र योग्यताबाट हासिल गरिएको महत्वपूर्ण उपलब्धि रहेको बताएका छन्।
यस वर्ष एमबीबीएसमा भर्ना भएका अधिकांश विद्यार्थी सरकारी विद्यालयबाट आएका हुनु विशेष उत्साहजनक रहेको उल्लेख गर्दै मुख्यमन्त्रीले यसले राज्यको शिक्षा क्षेत्रमा भइरहेको निरन्तर प्रगतिलाई प्रतिबिम्बित गरेको बताए। आर्थिक रूपमा कमजोर वर्गका योग्य विद्यार्थीले उच्च शिक्षा हासिल गरी आफ्ना आकाङ्क्षा पूरा गर्ने पर्याप्त अवसर पाऊन् भन्ने सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको उनले बताए।
विद्यार्थीहरूको शैक्षिक यात्रामा आवश्यक सहयोग निरन्तर उपलब्ध गराइने पनि उनले स्पष्ट पारेका छन्। सो अवसरमा मुख्यमन्त्रीले विद्यार्थीहरूको अध्ययनलाई थप सहयोग पुर्याउने उद्देश्यले उनीहरूलाई ल्यापटपसमेत हस्तान्तरण गरे।
मुख्यमन्त्री तामाङले विद्यार्थीहरूले समर्पणका साथ अध्ययन जारी राख्दै समाजप्रति संवेदनशील भएर सेवा गर्ने तथा सिक्किमको प्रगतिमा अर्थपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्दै उनीहरूको निरन्तर सफलताको कामना गरेका छन्।


