गान्तोक, 26 जून । सिक्किममा वैज्ञानिक अनुसन्धान तथा उच्च शिक्षालाई सुदृढ़ बनाउने दिशामा महत्वपूर्ण पाइलास्वरूप लोकसभा सांसद डा. इन्द्रहाङ सुब्बाको सांसद स्थानीय क्षेत्र विकास योजना अन्तर्गत तादोङस्थित नरबहादुर भण्डारी सरकारी महाविद्यालयको भौतिकशास्त्र विभागमा उच्च-प्रदर्शन कम्प्युटेशनल सुविधा स्थापना गरिएको छ।यो सुविधा कम्प्युटेशनल सामग्री विज्ञान सम्बन्धी अध्यापन तथा अनुसन्धानलाई सशक्त बनाउने उद्देश्यले स्थापना गरिएको बताइएको छ। यस सुविधाले अनुसन्धानकर्ता र विद्यार्थीहरूलाई उन्नत सामग्रीहरूको विद्युतीय, चुम्बकीय, संरचनात्मक तथा यातायातसम्बन्धी गुणहरूको अझ बढी शुद्धता र कम्प्युटेशनल दक्षतासहित अध्ययन गर्न सक्षम बनाउने छ।यो अत्याधुनिक अनुसन्धान पूर्वाधारको स्थापना सांसद सुब्बाको सिक्किमका वैज्ञानिक तथा शैक्षिक संस्थाहरूलाई सुदृढ़ बनाउने प्रतिबद्धताको प्रतिबिम्ब रहेको सांसदको कार्यालयद्धारा जारी प्रेस विज्ञप्तीमा बताइएको छ। यस पहलले विद्यार्थी तथा अनुसन्धानकर्ताका लागि नयाँ अवसरहरू सिर्जना गर्नुका साथै नवप्रवर्तनलाई प्रोत्साहन गर्दै संस्थाभित्र सशक्त अनुसन्धान वातावरण निर्माण गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।यो सुविधालाई नरबहादुर भण्डारी सरकारी महाविद्यालयको भौतिकशास्त्र विभागका लागि एक महत्वपूर्ण उपलब्धि मानिएको छ।


