गान्तोक, 12 जुलाई । सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमको रिनाक निर्वाचन क्षेत्र परिषद्को मासिक समन्वय बैठक आज पदमचेस्थित कार्यकर्ता सम्पर्क केन्द्रमा जिल्ला अध्यक्ष गजेन्द्र राईको अध्यक्षतामा सम्पन्न भयो। उक्त बैठकमा निर्वाचन क्षेत्रका पदाधिकारीहरू, विभिन्न भ्रातृ संगठनका प्रतिनिधिहरू तथा पार्टीका कार्यकर्ताहरूको सहभागिता रहेको थियो।
बैठकमा पार्टीका वर्तमान संगठनात्मक गतिविधिहरूको समीक्षा गर्दै संगठनलाई अझ सशक्त र जनआधारित बनाउने विषयमा विस्तृत छलफल गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ। बैठकमा विभिन्न महत्वपूर्ण एजेन्डाहरूमा छलफल गरी सर्वसम्मत रूपमा निर्णयहरू पारित गरियो।
प्रत्येक वार्ड र गाउँसम्म पार्टीको संगठन विस्तार गर्दै संगठनलाई अझ सुदृढ बनाउने, बूथस्तरीय समितिहरूलाई प्रभावकारी रूपमा गठन तथा सक्रिय बनाउने, युवा तथा महिलाहरूको सहभागिता अभिवृद्धि गर्ने, साथै जनतासँग प्रत्यक्ष सम्पर्क बढाई उनीहरूका समस्या, आवश्यकता र अपेक्षालाई नजिकबाट बुझेर समाधानका लागि निरन्तर पहल गर्ने निर्णय गरियो।
पार्टीका प्रत्येक कार्यकर्ताले जनताको बीचमा निरन्तर सक्रिय रहँदै आम नागरिकका समस्याहरूलाई सशक्त रूपमा उठाउने तथा समृद्ध, आत्मनिर्भर र भ्रष्टाचारमुक्त सिक्किम निर्माणका लागि इमानदारीपूर्वक कार्य गर्नुपर्नेमा जोड दिइयो।
जिल्ला अध्यक्ष गजेन्द्र राईले पार्टी अध्यक्ष गणेश कुमार राईको दूरदर्शी नेतृत्वमा सम्पूर्ण नेता तथा कार्यकर्ताहरूलाई एकताबद्ध भई अनुशासन, समर्पण र सेवाभावका साथ जनताको हितमा निरन्तर कार्य गर्न आह्वान गरे। उनले पार्टीको भावी सफलताको आधार सशक्त संगठन, सामूहिक उत्तरदायित्व तथा जनतासँगको निरन्तर सम्पर्क नै हुने विश्वास व्यक्त गरे।
Leave a comment


