गान्तोक, 23 अगस्तः नेपाली भाषा मान्यताको इतिहासमा वर्ष 2024 एउटा ऐतिहासिक माइलखुट्टीका रूपमा अंकित भएको छ। सन् 1956-मा देहरादुनबाट आनन्दसिंह थापाको अगुवाइमा शुरू भएको भाषा मान्यताको आन्दोलनले 36 वर्षपछि सन् 1992-मा संवैधानिक मान्यता पाएको हो। संवैधानिक मान्यता पाएको 33 औँ वर्ष टेक्दा सिक्किमले यसको समृद्धि र विकासमा नयाँ कोशेढुङ्गा स्थापित गरेको छ।
सिक्किम सरकारले सरकारी अधिसूचना, राजपत्र र सरकारी विज्ञप्तिहरू नेपाली भाषामा पनि जारी गर्ने घोषणा गर्दै तत्काल कार्यान्वयनमा ल्याएपछि सम्पूर्ण नेपालीभाषीहरूका निम्ति यो ऐतिहासिक सुखद् घटनाक्रम बनेको छ। 1956-मा आनन्दसिंह थापा अनि 1992-मा नरबहादुर भण्डारीपछि 2024-मा प्रेमसिंह तामाङले भाषा मान्यताको संवैधानिक अधिकारलाई व्यवहारमा ल्याउने सहास गरेका छन्।
चिया कविता सिक्किम मुख्यमन्त्री प्रेमसिंह तामाङको यस निर्णयप्रति हार्दिक कृतज्ञता प्रकट गर्दछ। यस प्रकारको ऐतिहासिक निर्णयले नेपाली भाषाको श्रीवृद्धिमा ठुलो टेवा पुग्ने कुरामा हामी विश्वस्त छौँ। सरकारले चालेको यस ऐतिहासिक कदमलाई सरकारी कामकाजका जिम्मेवारपक्ष, भाषा साहित्यसित आबद्ध संघ-संस्था र व्यक्तिविशेषले हैंसेमा होस्टे दिए मात्र सफल हुनेछ। आम नेपालीभाषीहरूले पनि यसलाई अवसर र उपलब्धिका रूपमा लिएर धेरैभन्दा धेरै नेपाली भाषालाई प्रयोगमा ल्याउन आवश्यक रहेको छ भनी चिया कविताका मुख्य संयोजक प्रवीण खालिङले एउटा प्रेस विज्ञप्तिमार्फ जनाएका छन्।