गान्तोक, 12 फरवरी। राज्यका छुटेका 12 जात-गोष्ठीलाई जनजातिको मान्यता दिलाउन मुख्यमन्त्री प्रेमसिंह तामाङको नेतृत्वमा सम्पूर्ण छुटेका जात-गोष्ठीका प्रतिनिधिहरूको उपस्थितिमा दोस्रोपटक गत 10 फरवरी, 2025 मा नयाँ दिल्लीमा सिक्किम राज्य उच्च स्तरीय समितिको महत्त्वपूर्ण बैठक भयो। राज्यका छुटेका 12 जात-गोष्ठीलाई जनजातिको मान्यता दिलाउन राज्य सरकारद्वारा अधिसूचना जारी गरेर गठित सिक्किम राज्य उच्च स्तरीय समितिमा प्रोफेसर बीभी शर्मा अध्यक्ष, प्रोफेसर महेन्द्र पी. लामा उपाध्यक्ष, 6 जना विशेषज्ञ सदस्यहरू अनि छुटेका जात-गोष्ठीका शोधवक्ताहरू सामेल रहेका छन्।
मुख्यमन्त्री तामाङको अध्यक्षतामा नयाँ दिल्लीमा आयोजित यो बैठकमा छुटका 12 जातगोष्ठीलाई जनजातिको मान्यता दिलाउन हालसम्म भइरहेको कार्य प्रगतिबारे गम्भीरतापूर्वक छलफल गरिएको अखिल किराँत राई संघ, सिक्किमका मूल सचिव आरके वालिङले विज्ञप्तिमा बताएका छन्।
राज्यका किराँत खम्बु राई, किराँत याखा देवान, गुरुङ, नेवार, थामी, सुनुवार, भुजेल, मंगर, खस (छेत्री अनि बाहुन), सन्यासी, जोगी अनि माझी गरेर मोठ 12 जात-गोष्ठीका शोधवक्ताहरूको साथमा गठित सिक्किम राज्य उच्च स्तरीय समितिका एक-एक सदस्यले एउटा-एउटा जात-गोष्ठीको इथनोग्राफी रिपोर्ट सम्बन्धित जात-गोष्ठीको कार्य समितिका पदाधिकारीहरूसँग परामर्श गरेर तयार पार्ने कार्य तीव्र गतिमा भइरहेको उनले बताएका छन्। सो रिपोर्ट तयार भएपछि भारत सरकारको सम्बन्धित निकाय/मन्त्रालयसमक्ष बुझाएर यी जात-गोष्ठीलाई जनजातिको मान्यता दिलाउनुपर्ने दिशामा आवश्यक पहल गरिने उनले बताएका छन्।
यस्तो महत् कार्यलाई लक्ष्यसम्म पुऱ्याउन निरन्तर दिशानिर्देशन, मार्गदर्शन गरिरहेकोमा मुख्यमन्त्री प्रेमसिंह तामाङप्रति सम्पूर्ण 12 जात-गोष्ठीले आभार व्यक्त गरेको छ। उनले दिल्लीमा आयोजित बैठक सिक्किमेली छुटेका 12 जात-गोष्ठीलाई जनजातिको मान्यता दिलाउन मुख्यमन्त्री अति नै गम्भीर रहेको उदाहरण रहेको बताएका छन्। उनले मुख्यमन्त्रीको अतुलनीय सहयोग, अमूल्य पहलले निश्चय सिक्किमेली 12 जात-गोष्ठीले जनजातिको मान्यता पाउनेछ भन्ने कुरामा आफुहरू विश्वस्त रहेको बताएका छन्।

Leave a comment