गान्तोक, 15 मार्च। हिमनदी फुटेर आएको बाढी (जीएलओएफ) पछि उत्तर सिक्किमसॅंगको सम्पर्क गम्भीर रूपमा प्रभावित बनेको छ।
जीएलओएफ त्रासदीपछि सेनाको रसद आपूर्ति र उत्तर सिक्किमतर्फ नागरिकहरूको आवागमन दुवै अवरुद्ध भएको थियो। परिस्थितिको गम्भीरतालाई ध्यानमा राख्दै सीमा सडक संगठन (बीआरओ) को परियोजना स्वस्तिकले धेरै बेली ब्रिजहरू तयार गरेर उत्तर सिक्किमसँग सम्पर्क पुनर्स्थापित गर्न सक्षम बन्यो।
यद्यपि, अनियन्त्रित ओभरलोड ट्रकहरूको आवागमनका कारण हालै उत्तर सिक्किममा चारवटा महत्त्वपूर्ण पुलहरू भत्किएका छन्। बीआरओ अनुसार, 4 जनवरी, 2025 मा लाचुङलाई कटाओसॅंग जोड्ने 200 फिटको बेली ब्रिज, 11 फरवरी, 2025 मा सङ्कलाङमा टिस्टा नदीमाथि निर्माण गरिएको 180 फिट लामो बेली ब्रिज, 20 फरवरी, 2025 मा डिक्चु-सङ्कलाङ सडकमा निर्माण गरिएको पुरानो फेचु पुल र 15 मार्च, 2025 मा फिदाङको 320 फिटको बेली सस्पेन्सन ब्रिज अनियन्त्रित ओभरलोडका कारण गम्भीर रूपमा क्षतिग्रस्त भयो।
सङ्कलाङमा रहेको 180 फिटको बेली ब्रिज भत्किएपछि फिदाङ पुल हुँदै डिक्चु-सङ्कलाङ-टुङ भएर उत्तर सिक्किमसॅंग सम्पर्क जोडिएको थियो। यद्यपि, फिदाङ पुल गम्भीर रूपमा क्षतिग्रस्त भएपछि उत्तर सिक्किमसँगको सम्पर्क फेरि एक पटक अवरुद्ध भएको छ।
परिस्थितिको गम्भीरतालाई ध्यानमा राख्दै परियोजना स्वस्तिकले आफ्नो प्राविधिक टोलीलाई फिदाङ पुल मर्मत गर्न परिचालन गरेको विज्ञप्तिमा बताइएको छ। केही दिनमा सामान्य यातायात पुनर्स्थापित हुने सम्भावना व्यक्त गरिएको छ। परियोजना स्वस्तिकले थप क्षति रोक्नका लागि मालवाहक सवारी साधनको आवागमनमा कडाइका साथ प्रतिबन्ध लगाउन जिल्ला प्रशासनलाई फेरि एक पटक आग्रह गरेको छ।