गान्तोक, 20 मई। मुख्यमन्त्री प्रेमसिंह तामाङले आज नयॉं दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीसॅंग भेट गरेका छन्। सिक्किम राज्य स्थापनाको 50औं वर्षको उपलक्ष्यमा चलिरहेको गौरवशाली समारोहको एक भागको रूपमा आज प्रधानमन्त्री मोदीसॅंग भेट्ने विशेष सम्मान पाएको उनले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन्।
मुख्यमन्त्रीले सिक्किमका जनताको तर्फबाट प्रधानमन्त्रीलाई वर्षभरि मनाइने राज्य स्थापना दिवस समारोहमा सहभागी हुन औपचारिक निमन्त्रणा दिए। प्रधानमन्त्रीले निमन्त्रणालाई विनम्रतापूर्वक स्वीकार गरेको जानकारी गराउॅंदै मुख्यमन्त्रीले खुशी प्रकट गरेका छन्। प्रधानमन्त्रीले आगामी 29 मई, 2025 मा यो ऐतिहासिक उपलब्धि मनाउन हाम्रो सुन्दर हिमाली राज्यको भ्रमण गर्ने इच्छा व्यक्त गरेको उनले अवगत गराएका छन्।
मुख्यमन्त्रीले भेटघाटको क्रममा राष्ट्रको आतङ्कवाद विरुद्धको अटल लडाईमा एक ऐतिहासिक उपलब्धि अपरेशन सिन्दूरको शानदार सफलताको लागि प्रधानमन्त्रीलाई हार्दिक बधाई दिए। उनले यस अभियानको सफल कार्यान्वयनले राष्ट्रिय गौरवलाई उल्लेखनीय रूपमा बलियो बनाएको छ र विश्वव्यापी मञ्चमा भारतको शक्ति र संकल्पलाई पुन: पुष्टि गरेको कुरा राखे।
मुख्यमन्त्रीले प्रधानमन्त्रीको बहुमूल्य समय र सिक्किमका जनतालाई निरन्तर मार्गदर्शन, प्रोत्साहन र सहयोगको निम्ति प्रधानमन्त्रीप्रति हार्दिक आभार व्यक्त गरेका छन्। उनले सबै मिलेर देशका प्रिय प्रधानमन्त्रीलाई सिक्किममा भव्य स्वागत गरौं भनी आह्वान पनि गरेका छन्।

Leave a comment