गुजरातको अहमदाबादबाट लन्दन गन्तव्यका लागि उडेको एयर इन्डियाको विमान एआई171 आज बिहिवार दिउँसो अहमदाबाद विमानस्थल नजिकै दुर्घटनामा पऱ्यो। हवाई अड्डाबाट उडेको केही क्षणमै दुर्घटनाग्रस्त भएको विमानमा 242 यात्रु सवार थिए। यस दुर्घटनामा कम्तिमा 204 जनाको ज्यान गएको पुष्टि भएको छ।
भारतको सेना, एनडीआरएफ, सीआरपीएफ र कोस्ट गार्डका उद्धार टोलीहरू घटनास्थलमा खटिएका छन्। यस दुखद दुर्घटनामा गुजरातका पूर्व मुख्यमन्त्री विजय रुपानीको पनि मृत्यु भएको पुष्टि भएको छ। उनले सन् 2016 देखि 2021 सम्म गुजरातको मुख्यमन्त्रीको रूपमा राज्यको बागडोर सम्हालेका थिए। यो दुर्घटनापछि गुजरातले 6 दशकपछि अर्का पूर्व मुख्यमन्त्रीलाई विमान दुर्घटनामा गुमाएको दुःखद इतिहास दोहोरिएको छ। सन् 1964 मा बलवन्तराय मेहताको पनि विमान दुर्घटनामा मृत्यु भएको थियो।
अर्कोतिर, आजको यस दुखद घटनाबीच एक यात्रु भने चमत्कारिक रूपमा बाँच्न सफल भएका छन्। उनी एक ब्रिटिश नागरिक रहेको बताइएको छ। 38 वर्षीय रमेश विश्वासकुमार बुचारवाडा, विमानको सीट 11ए मा बसेका थिए, जुन आपतकालीन ढोकाको ठीक पछाडि पर्ने सीट हो।
रमेशको जीवनरक्षा चमत्कारसरह मानिएको छ, र उनी अहिले अस्पतालमा उपचाररत छन्। यस घटनाको विस्तृत अनुसन्धान भइरहेको छ भने थप जानकारी सबैले प्रतिक्षा गरिरहेका छन्।