गान्तोक, 25 नोभेम्बर । लगभग 27 वर्षपछि पाल्जोर स्टेडियममा पाइला टेकेको देशकै एक प्रतिष्ठित फुटबल क्लब इस्ट बंगालको 41औं अखिल भारतीय राज्यपाल स्वर्ण कप अन्तरराष्ट्रिय फुटबल टुर्नामेन्टमा यात्रा समाप्त भएको छ। यस टुर्नामेन्टमा पहिलो पटक मैदानमा उत्रिएको इस्ट बंगाल एफसीलाई आज अन्तिम क्वार्टर फाइनल खेलमा सर्भिसेस एफटीले 1-0 गोलले पराजित गऱ्यो।
यस टुर्नामेन्टमा सर्भिसेस एफटीले पहिलो चरणदेखि नै उत्कृष्ट खेल प्रदान गर्दै क्वार्टर फाइनलसम्म स्थान बनाउन सक्षम बन्यो भने आजको जितसॅंगै सर्भिसेस एफटीले सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको छ। आगामी 27 नोभेम्बरका दिन सर्भिसेसको डाइमण्ड हार्बरसॅंग सेमिफाइनलमा भिडन्त हुनेछ।
सर्भिसेस एफटीको पक्षमा एकमात्र गोल जर्सी नम्बर 34 अभिषेक पवारले खेलको 93औं मिनटमा गरे, जुन निर्णायक बन्यो। खेलमा पराजित बने तापनि आफ्नो उत्कृष्ट प्रदर्शनका लागि इस्ट बंगाल एफसीका गोलकिपर गौरव शालाई म्यान अफ् द म्याच चयन गरियो।
आज खेलकुद एवं युवा मामिला विभागका सल्लाहकार बिक्रम प्रधान मुख्य अतिथि र सिक्किम क्रिकेट एसोसिएशनका अध्यक्ष टिका सुब्बा विशिष्ट अतिथि थिए। भोलि, 26 नोभेम्बरका दिन पहिलो सेमिफाइनल खेल राजस्थान युनाइटेड एफसी र सिक्किम ड्रेगन्स एफसीबीच खेलिने छ।
Leave a comment


