गान्तोक, 30 जनवरी । उत्तर सिक्किमको मङ्गनस्थित कम्युनिटी केन्द्रमा आज लाचेन मङ्गन निर्वाचन क्षेत्रको एक समन्वय एवं सामेल कार्यक्रम सम्पन्न भयो। मूख्यमन्त्रीका सल्लाहकार केएन लेप्चा मुख्य अतिथि रहेको कार्यक्रममा मन्त्री साम्डुप लेप्चा जिल्ला अध्यक्ष, जिल्ला उपाध्यक्ष, ओएसडीहरू, लाचेन र लाचुङका पिपनहरू आदि उपस्थित थिए। शहीद दिवसको अवसरमा शहीदहरूको स्मृतिमा दुई मिनेट मौन धारण गरी श्रद्धाञ्जली अर्पण गरिएको थियो। कार्यक्रममा ४८७ परिवारले एसकेएम पार्टीमा प्रवेश गरेको बताइएकाे छ। मन्त्री लेप्चाले नयाँ प्रवेश गरेका सदस्यहरूलाई हार्दिक स्वागत गरे र मुख्यमन्त्री प्रेमसिंह तामाङको दूरदर्शी नेतृत्वमा निरन्तर विश्वास राख्न आग्रह गरे। उनले उत्तर सिक्किमको विविधताभित्रको एकतालाई उजागर गर्दै सबैलाई ‘टिम लाचेन–मङ्गन’ का रूपमा एकजुट भई काम गर्न आह्वान गरे। उनले क्षेत्रको दिगो विकासका लागि पर्यटन क्षेत्रको प्रवर्द्धन अत्यन्त आवश्यक रहेको बताए। उनले युवा पुस्तालाई परिश्रम, अनुशासन र समर्पणका मूल्यहरू अपनाउँदै आत्मनिर्भर र विकसित सिक्किम निर्माणमा योगदान गर्न प्रोत्साहित गरे। उनले सामूहिक एकता र प्रतिबद्धतामार्फत “सुनौलो, समृद्ध र समर्थ सिक्किम” को लक्ष्य अवश्य प्राप्त हुनेमा विश्वास व्यक्त गरे।


