गेजिङ, 22 जून । गेजिङ जिल्ला अन्तर्गत मानेबोङ-देन्ताम निर्वाचन क्षेत्र शत प्रतिशत गणना फाराम (ईएफ) हरूको डिजिटाइजेसन हासिल गर्ने जिल्ला एवं सिक्किमकै पहिलो निर्वाचन क्षेत्र बनेको छ।
गेजिङ जिल्लामा मतदाता नामावलीको विशेष गहन पुनरीक्षण (एसआईआर) ले उल्लेखनीय प्रगति रेकर्ड गरेको छ। यस उपलब्धिले निर्वाचन अधिकारीहरू र बुथ स्तरीय अधिकारीहरूको समर्पित प्रयास र चारै विधानसभा निर्वाचन क्षेत्रका मतदाताहरूको सक्रिय सहभागितालाई प्रतिबिम्बित गर्दछ।
गणना फारामहरू (ईएफ) को पछिल्लो डिजिटाइजेसन रिपोर्ट अनुसार, मानेबोङ-देन्ताम विधानसभा निर्वाचन क्षेत्रले १००% डिजिटाइजेसन हासिल गरेको छ, जसले गर्दा गेजिङ जिल्ला साथै सिक्किम राज्यमा चलिरहेको एसआईआर अभ्यास अन्तर्गत डिजिटाइजेसन प्रक्रिया पूरा गर्ने पहिलो विधानसभा निर्वाचन क्षेत्र बनेको छ।
यो उल्लेखनीय उपलब्धि निर्वाचन दर्ता अधिकारी, सहायक निर्वाचन दर्ता अधिकारी, तीन बीएलओ पर्यवेक्षकहरू र 22 बीएलओहरूको प्रतिबद्ध प्रयासबाट सम्भव भएको बताइएको छ, जसले गणना फारामहरूको समयमै सङ्कलन, प्रमाणीकरण र डिजिटलाइजेसन सुनिश्चित गर्न अथक प्रयास गरे।
जिल्लाका अन्य विधानसभा क्षेत्रहरूले पनि प्रशंसनीय प्रगति प्रदर्शन गरेका छन्। जसमा याङथाङ विधानसभा क्षेत्रले ९७.४३% डिजिटलाइजेसन हासिल गरेको छ भने युक्सम-टाशीडिङ निर्वाचन क्षेत्रले ९७.९६% र गेजिङ-बर्मेक निर्वाचन क्षेत्रले ९५.६३% डिजिटलाइजेसन हासिल गरिसकेको छ।
जिल्ला निर्वाचन अधिकारी एवं जिल्लापालले एसआईआर प्रगतिको निरन्तर अनुगमन गरिरहेका छन् र नियमित समीक्षा र क्षेत्र भ्रमणहरू मार्फत क्षेत्र अधिकारीहरूलाई प्रोत्साहन गरिरहेका छन्। जिल्ला निर्वाचन अधिकारीले कार्यक्रमको सफल कार्यान्वयनमा अटल समर्थन र सहयोगका लागि सबै सम्बन्धित अधिकारीहरू र सबै सरोकारवालाहरूको प्रयासको प्रशंसा गरेका छन्।
Leave a comment


