गान्तोक, 26 अगस्त। सिक्किममा जारी विशेष गहन पुनरीक्षण (एसआईआर) का कारण नाम्ची जिल्लाकी एक महिला मतदाता र पाकिम जिल्लाका एक बुथ लेभल अफिसर (बीएलओ) ले आत्महत्या गरेको भन्ने सीएपी-सिक्किमका अध्यक्ष गणेश राईको दाबीमाथि मुख्य निर्वाचन अधिकारी (सीईओ) को कार्यालयले स्पष्टीकरण दिएको छ। कार्यालयका अनुसार, सम्बन्धित जिल्ला पुलिसबाट प्राप्त तथ्यगत प्रतिवेदनमा दुवै घटनालाई एसआईआरसम्बन्धी काम वा दबाउसँग जोड्ने कुनै प्रमाण हालसम्म फेला परेको छैन।सीएपी सिक्किमका अध्यक्ष गणेश राईले सामाजिक सञ्जालमा सार्वजनिक गरेको भिडियोमा नाम्चीकी एक महिला मतदाताको कथित आत्महत्या एसआईआर सुनुवाइसँग जोडिएको तथा पाकिमका एक बीएलओले एसआईआरको कार्यदबाउका कारण आत्महत्या गरेको दाबी गरेका थिए।उक्त दाबीपछि सिक्किमका मुख्य निर्वाचन अधिकारीको कार्यालयले नाम्ची र पाकिमका सम्बन्धित पुलिस अधीक्षकसँग घटनाबारे तथ्यगत प्रतिवेदन माग गरेको जनाएको छ।नाम्चीका वरिष्ठ पुलिस अधीक्षकको प्रतिवेदनअनुसार, एसआईआर सुनुवाईसँग कथित रूपमा जोडिएको कुनै महिला नागरिकको आत्महत्यासम्बन्धी घटना नाम्ची जिल्लाका कुनै पनि पुलिस थानामा रिपोर्ट वा उजुरी भएको छैन।त्यसैगरी, पाकिमका पुलिस अधीक्षकको प्रतिवेदनमा मृतक बीएलओले अत्यधिक कार्यभार, अनुचित दबाउ वा कुनै प्रकारको दुर्व्यवहारबारे सम्बन्धित अधिकारीसमक्ष आधिकारिक उजुरी गरेको प्रमाण फेला नपरेको उल्लेख छ। मृतकका परिवारका सदस्यहरूबाट पनि यससम्बन्धी कुनै आधिकारिक उजुरी नआएको जनाइएको छ।पुलिसको प्रारम्भिक अनुसन्धानमा उपलब्ध डिजिटल अभिलेख तथा फोन रेकर्डहरूमा पनि बीएलओको आत्महत्या र एसआईआर सम्बन्धी कार्य दबाउबीच सम्बन्ध देखाउने कुनै सामग्री फेला नपरेको सीईओ कार्यालयले जनाएको छ।घटनाबारे थप तथ्य पोस्टमार्टम प्रतिवेदनबाट स्पष्ट हुने अपेक्षा गरिएको छ। पाकिमका पुलिस अधीक्षक, एसडीएम र बीडीओको संयुक्त प्रयासमा अनुसन्धान गरिएको कार्यालयले जनाएको छ।अनुसन्धानका क्रममा उपलब्ध प्रत्यक्षदर्शी तथा मृतक बीएलओका आफन्तहरूसँग समेत सोधपुछ गरिएको बताइएको छ। सोधपुछका क्रममा पनि मृतकको मृत्यु र एसआईआर सम्बन्धी कामबीच कुनै सम्बन्ध फेला नपरेको प्रतिवेदनमा उल्लेख गरिएको छ।मुख्य निर्वाचन अधिकारीको कार्यालय, सिक्किमले जारी गरेको प्रेस विज्ञप्तिमा हालसम्म प्राप्त पुलिस प्रतिवेदनका आधारमा एसआईआरलाई दुवै घटनासँग जोड्ने प्रमाण नरहेको स्पष्ट पारेको छ।


