
मङ्गन, २९ अगस्त। चार महिनादेखि अवरुद्ध रहेको तारामचु पुलनजिकको महत्वपूर्ण सडक आज पुनः सञ्चालनमा आएको छ। लाचेनका जनताका लागि सडक पुनः सञ्चालन हुनु केवल यातायात सुविधा पुनर्स्थापना हुनु मात्र नभई समुदायलाई जिल्लाका अन्य भागसँग जोड्ने महत्वपूर्ण जीवनरेखा पुनः स्थापित हुनु हो। कठिन भौगोलिक अवस्था र बारम्बार हुने प्राकृतिक विपत्तिका कारण सहजै सम्पर्कविच्छेद हुन सक्ने यस क्षेत्रमा तारामचु सडकको विशेष महत्व रहेको छ।
सामाजिक कल्याण विभागका मन्त्री तथा लाचेन मङ्गन क्षेत्रका विधायक साम्डुप लेप्चाले आज पुनर्निर्माण गरिएको सडकखण्डको उद्घाटन गर्दै सर्वसाधारणका लागि औपचारिक रूपमा खुल्ला गरेका हुन्। यस अवसरमा धार्मिक अनुष्ठानसमेत गरिएको थियो।
उल्लेखनीय छ, अक्टोबर २०२३ मा गएको ग्लेसियल लेक आउटबर्स्ट फ्लड (जीएलओएफ) का कारण क्षतिग्रस्त सडक २६ फरवरी, २०२६ मा पुनः सञ्चालन गरिएको थियो। तर, ५ अप्रेल, २०२६ मा सडकखण्ड पुनः अवरुद्ध भएको थियो। त्यसपछि ग्रेफले कठिन परिस्थितिका बीच लगातार चार महिनासम्म काम गर्दै सडक सम्पर्क पुनर्स्थापित गरेको हो।
उद्घाटन कार्यक्रममा मङ्गनका जिल्लापाल अनन्त जैन, प्रोजेक्ट स्वस्तिकका प्रमुख अभियन्ता ब्रिगेडियर अमित साखरे, ग्रेफका वरिष्ठ अधिकारीहरू लगायत सम्बन्धित विभागका अधिकारी तथा जिल्ला र वार्ड पञ्चायतका सदस्यहरूको उपस्थिति थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लेप्चाले सडक पुनर्स्थापनाका लागि अथक प्रयास गरेकोमा ग्रेफप्रति आभार व्यक्त गरे। उनले सडक पुनः सञ्चालनले लाचेनका जनतालाई ठूलो राहत पुगेको बताए। साथै, पुनर्निर्माण कार्यका क्रममा लाचेन जुम्सा तथा स्थानीय समुदायले गरेको सहयोग र सहकार्यप्रति पनि उनले धन्यवाद दिए।
कठिन भौगोलिक अवस्थाबीच सडक निर्माण कार्य एकै जनाको पनि ज्यान नगुमाई सम्पन्न भएकोमा राहत व्यक्त गर्दै मन्त्रीले यस उपलब्धिको श्रेय कार्यमा संलग्न कर्मचारीहरूको अनुशासन र समर्पणलाई दिए। उनले समुदायको यातायात सम्पर्क मजबुत बनाउन उनीहरूले पुर्याएको योगदानको प्रशंसा गरे।
मन्त्री लेप्चाले प्राकृतिक विपत्तिका चुनौतीका बावजुद महत्वपूर्ण सडकमार्गहरू खुल्ला राख्न सरकारले निरन्तर प्रयास गर्ने आश्वासन दिए। लाचेनका जनतालाई भरपर्दो यातायात सम्पर्क आवश्यक रहेकोमा उनले जोड दिए।
प्राविधिक पक्षबारे जानकारी दिँदै ब्रिगेडियर अमित साखरेले आगामी अक्टोबरदेखि करिब ८० देखि १०० मिटर लामो जोखिमयुक्त सडकखण्डमा थप सुदृढीकरणको काम शुरु गरिने बताए। यसअन्तर्गत रक बोल्टिङ, रिटेनिङ वाल, उच्च तन्य क्षमता भएका डोरी तथा रकफल ब्यारेयर निर्माणका साथै नजिकै रहेको तारामचु पुलको एबटमेन्टलाई समेत मजबुत बनाइनेछ।
सडक पुनः सञ्चालनसँगै लाचेनमा सामान्य जनजीवन फर्काउने दिशामा महत्वपूर्ण प्रगति भएको छ। सडक तत्कालका लागि सञ्चालनमा आए पनि प्रस्तावित सुदृढीकरण कार्यले यस महत्वपूर्ण पहाडी मार्गलाई थप सुरक्षित र प्राकृतिक विपत्तिको सामना गर्न सक्षम बनाउने प्रयासलाई निरन्तरता दिनेछ।


