गान्तोक, 10 फरवरी। सिक्किम सरकारको श्रम विभागले सिक्किम श्रम (रोजगार र सेवाका सर्तहरूको नियमन) ऐन, 2021 अन्तर्गत संगठित र असंगठित दुवै क्षेत्रका कामदारहरूको पञ्जीकरणको बारेमा जागरूकता जगाउने मुख्य उद्देश्यले आज सोकेथाङस्थित श्रम भवनको सम्मेलन हलमा एक पत्रकार सम्मेलन आयोजना गर्यो ।
श्रम विभागका सचिव रगुल के. ले सिक्किम श्रम (रोजगार र सेवाका सर्तहरूको नियमन) ऐन, 2021 मा उल्लिखित नियम र विनियमहरूको बारेमा विस्तृत रूपमा जानकारी गराउॅंदै सिक्किममा राज्य बाहिरबाट आएर काम गरिरहेका श्रमिकरूको पञ्जीकरणको प्रक्रियाको बारेमा जानकारी गराए। उनले संगठित र असंगठित दुवै क्षेत्रका कामदारहरूको पञ्जीकरणको आवश्यकतामाथि प्रकाश पारे।
उनले सिक्किममा पञ्जीकृत कामदारहरूले मात्र काम गर्न पाउने कानुन रहेको बताए। उनले पञ्जीकरण नगर्ने कामदारहरूका लागि लागू हुने दण्डको बारेमा पनि जानकारी गराए। उनले श्रमिकहरूको पञ्जीकरण निरन्तर प्रक्रिया रहेको र राज्यभरि कुनै पनि तोकिएको श्रम कार्यालयमा पञ्जीकरण गर्न सकिन्छ भनी बताए। उनले सबै श्रमिकहरू र रोजगारदाताहरूलाई कानुनी परिणामबाट बच्न समयमै पञ्जीकरण सुनिश्चित गर्न आग्रह गरे।

Leave a comment