गान्तोक, 22 अप्रेल। सिक्किमको आधिकारिक भ्रमणमा रहेको अधीनस्थ विधान सम्बन्धी संसदीय स्थायी समितिका सदस्यहरूले आज भारत-चीन सीमा नथुलाको भ्रमण गरे। सिक्किमका लोक सभा सांसद डा. इन्द्रहाङ सुब्बा पनि भ्रमण टोलीमा सामेल थिए। भ्रमण टोलीको अगुवाई समितिका अध्यक्ष राज्यसभा सांसद मिलिन्द देवडाले गरेको थियो।
नथुलामा भारतीय सेनाका ब्रिगेडियर अमित शर्माले प्रतिनिधिमण्डलको नेतृत्व गर्दै रणनीतिक अन्तर्दृष्टि प्रदान गरेका थिए। नथुला सीमा चौकीमा वर्तमान अवस्था र क्षेत्रको ऐतिहासिक प्रासंगिकताको बारेमा क्याप्टेन ऋषभ चौहानले प्रतिनिधिमण्डललाई विस्तृत रूपमा जानकारी गराए। उनले नथुला करिडोरको वीरता, राष्ट्रिय सेवा र महत्त्वपूर्ण भूराजनीतिक भूमिकाका कथाहरूमाथि प्रकाश पारे।

प्रतिनिधिमण्डलले भारतीय सेनाका कर्मचारीहरूको लागि ठूलो आस्था र भावनात्मक महत्त्वको स्थल सम्मानित पुरानो बाबा मन्दिरको पनि भ्रमण गर्यो। त्यहाँ, टोलीले श्रद्धाञ्जली अर्पण र प्रार्थना गर्यो। पछि, टोलीले छाङ्गु लेकमा भारतीय सेनाको सम्मेलन हलमा उच्चस्तरीय बैठक आयोजना गऱ्यो।
बैठकमा ड्रोन टेक ल्याबका विज्ञहरू, भारतीय सेनाका अधिकारीहरू र संसदीय समितिका सदस्यहरूको सहभागिता थियो। बैठकमा रक्षा क्षमता र निगरानी प्रणालीहरू बढाउन उन्नत ड्रोन प्रविधिहरूको सम्भावनामाथि चर्चा गरियो। सांसद सुब्बाले भारतीय सेनाको समर्पण र भ्रमण गर्ने प्रतिष्ठित व्यक्तिहरू र प्राविधिक विज्ञहरूको सहयोगको लागि आज जारी एक प्रेस विज्ञप्तिमा आफ्नो प्रशंसा व्यक्त गरेका छन्।
