गान्तोक, 14 अप्रेल। सिटिजन एक्सन पार्टी-सिक्किम अन्तर्गत अखिल सिक्किम अनुसूचित जाति कल्याण परिषदको आयोजनामा आज भारतका संविधान निर्माता डा. भीमराव आम्बेडकरको १३४औं जन्मजयन्ती पश्चिम सिक्किमको गेजिङस्थित ८ माइल जिल्ला कार्यालयमा पार्टी अध्यक्ष गणेश राईको अध्यक्षतामा भव्यरूपमा पालन गरियो।
पार्टीका वरिष्ठ नेतृत्वहरूको उपस्थितिबीच आयोजित कार्यक्रममा नेता-नेतृहरूले कविता, गायन र वक्तव्य प्रस्तुत गरी कार्यक्रमलाई सांस्कृतिक र वैचारिक दृष्टिले समृद्ध बनाएको विज्ञप्तिमा उल्लेख छ।
यस अवसरमा पार्टीका वरिष्ठ कार्यकर्ता अल्बर्ट गुरुङ, महेश राई, दिलमती लिम्बू, सङ्मित लेप्चा, वीरबल तामाङ, अनुराज भट्टराई र आशिष राईलाई समाजमा मानव मूल्य, समावेशिता र सेवाभावको उदाहरणीय योगदानका लागि सम्मानपत्रद्वारा सम्मानित गरियो।
आयोजक समितिले पार्टी अध्यक्ष गणेश राईलाई स्मृति चिन्ह प्रदान गरेर कृतज्ञता व्यक्त गरेको बताइएको छ। मुख्य अतिथि राईले आफ्नो सम्बोधनमा पार्टीको दृष्टिकोण स्पष्ट पार्दै सत्तारूढ पार्टीले आफ्नो मूल्यांकन गर्ने नैतिक धरातल गुमाएको बताए। “विपक्षले खोई काम गरेको?” भन्ने प्रश्न गर्नेहरू स्वयं सत्तामा बसेर जनताको पक्षमा केही नगरेको कटाक्ष गर्दै उनले सिटिजन एक्सन पार्टीले नागरिकमाझ सेवाभावका साथ कार्य गरिरहेको बताए।
उनले भ्रष्टाचारविरुद्धको संघर्षमा सबै कार्यकर्तालाई इमानदारीपूर्वक अडिग रहन निर्देशन दिए। सम्बोधनको क्रममा उनले चालकमाथिको कर र कर्मचारीको पेन्सन समस्या उठाउँदै वर्तमान सरकार जनविरोधी रहेको आरोप लगाए। उनले साना व्यवसायीहरू, जो राजशाहीकालदेखि व्यापारमा छन्, उनीहरूको संरक्षणका लागि सिटिजन एक्सन पार्टी दृढ रहेको बताए। उनले इमानदारीसॅंग संविधान निर्माता डा. आम्बेडकरको भनाइलाई पालन गर्न आह्वान गरे।

Leave a comment